रास्वपा र उनेपा एकता औपचारिक रूपमा भाँडियो, शक्ति र पदको सौदाबाजीले सहकार्य समाप्त
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी बिच हुने भनिएको पार्टी एकता शनिबार पूर्ण रूपमा भाँडिएको छ।
पुस १४ गते सुरु भएको एकता प्रक्रिया १२ दिनसम्म चले पनि अन्ततः सहमति हुन नसकेपछि दुवै दल अलग–अलग ढङ्गले अघि बढ्ने निष्कर्षमा पुगेका छन्।
रास्वपाले एकता असफल हुनुको मुख्य कारण उनेपा संरक्षक कुलमान घिसिङले राखेका अडानहरू रहेको दाबी गरेको छ। रास्वपाका अनुसार कुलमानले प्रधानमन्त्रीसरहको हैसियतसहितको पद, आफ्ना वरिष्ठ नेता, पदाधिकारी तथा सम्पूर्ण केन्द्रीय सदस्यलाई बिना कटौती रास्वपामा समायोजन गर्नुपर्ने सर्त अघि सारेका थिए।
यसका साथै समानुपातिक उम्मेदवारलाई बन्दसूचीको पहिलो क्रममा राख्नुपर्ने अडान नछाडेपछि सहमति असम्भव भएको रास्वपाको भनाइ छ। रास्वपाका नेता गणेश पराजुलीले अधिकतम लचकता देखाउँदा पनि उनेपासँग सहकार्य हुन नसकेको बताएका छन्।
उनका अनुसार उनेपाले रास्वपाले अंगीकार गरेको लोकतान्त्रिक सिद्धान्तमै पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग राखेको थियो । जसमा रास्वपा सहमत हुन सकेन। पार्टी प्रवक्ता मनीष झाले उनेपाले पदाधिकारी संरचनामा थप तीन पद माग गरेको जानकारी दिएका छन्।
वरिष्ठ उपसभापति कुलमानलाई दिनुपर्ने, थप एक महामन्त्री राखेर उनेपाको भागमा पार्नुपर्ने प्रस्तावमा सहमति नजुटेपछि एकता प्रक्रिया टुटेको उनले बताए। एकता भाँडिएलगत्तै उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले कुलमान घिसिङलाई अध्यक्ष घोषणा गरेको छ।
यसअघि दुवै पक्षबीच पुस १४ गते ७ बुँदे पार्टी एकतासम्बन्धी सहमति भएको थियो। तर सहमतिअनुसार व्यवहारमा नउत्रिएपछि शनिबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले उक्त सहमति औपचारिक रूपमा खारेज गरेको छ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले उनेपाको प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए। अर्कोतर्फ उनेपाका नेताहरूले भने रास्वपा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताजस्ता मूल मुद्दामा अस्पष्ट रहेकाले एकता सम्भव नभएको दाबी गरेका छन्।
कुलमान निकट नेता गणेश घिसिङले सङ्घीयता, धर्मनिरपेक्षता र समावेशीताका विषय नै मुख्य विवाद भएको बताएका छन्। उनका अनुसार ती विषयमा स्पष्टता नआएसम्म पार्टी एकता सम्भव थिएन।
स्रोतका अनुसार रास्वपासँगको एकता भाँडिएपछि उनेपाले पुस २८ अघि नै अर्को दलसँग एकता गरेर समानुपातिक उम्मेदवार सूची सच्चाउने तयारी थालेको छ। प्रत्यक्षतर्फका उम्मेदवार पनि उनेपाले आफ्नै ढङ्गले तय गर्ने योजना बनाएको बताइएको छ।













