गोपालमान श्रेष्ठ विशेष महाधिवेशनतर्फ, देउवामाथि ‘तानाशाही’ शैली अपनाएको आरोप
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा आफू उभिएको स्पष्ट पारेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेपछि विशेष महाधिवेशनमा सहभागी हुने निर्णय लिएको उनले बताएका छन्।
श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई पटक–पटक अन्याय गरेको आरोप लगाएका छन्। उनले देउवाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै भने, “उहाँलाई धेरै सहयोग गरेँ, तर सधैँ मलाई अन्याय भयो। त्यो अन्याय सहेर बस्ने अवस्था अब रहेन। उहाँ अहिले तानाशाहजस्तो व्यवहार गर्दै हुनुहुन्छ।”
उनका अनुसार देउवाले सिंगापुर जानुअघि कार्यवाहक सभापतिको जिम्मेवारी दिएको देखाए पनि वास्तविक शक्ति आफैँले नियन्त्रणमा राखेका थिए। श्रेष्ठले यसलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासविपरीतको कदम भनेका छन्।
पूर्वउपसभापति श्रेष्ठले आइतबार हुने विशेष महाधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। उनले कांग्रेस अब पुरानो नेतृत्व शैलीबाट अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताएका छन्।
“अब पार्टीमा अभिभावक भएर बस्ने र युवा नेतृत्वलाई अघि बढाउने समय आएको छ,” श्रेष्ठले भने, “महामन्त्रीद्वयसँगको छलफलपछि यही निष्कर्षमा पुगेँ र विशेष महाधिवेशनको पक्षमा उभिएको हुँ।”
श्रेष्ठको यो धारणा सार्वजनिक भएसँगै कांग्रेसभित्रको आन्तरिक द्वन्द्व थप तीव्र हुने देखिएको छ।












