पूर्वराजा ज्ञानेन्द्रको कडा सन्देशः ‘आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ’

User Image Prime TV News ४ दिन अगाडि
Image of पूर्वराजा ज्ञानेन्द्रको कडा सन्देशः ‘आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ’

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देशको अस्तित्वमै प्रश्न उठ्न थालेको बताएका छन्।

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देश जारी गर्दै उनले नारायणहिटी राजदरबार छोडेको करिब दुई दशक बितिसक्दा पनि देश निरन्तर संकटमै अल्झिएको उल्लेख गरेका छन्।

सन्देशमा उनले भनेका छन्, “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।” यो भनाइ केवल भावनात्मक अभिव्यक्ति होइन, मुलुकको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रतिको कडा टिप्पणीका रूपमा हेरिएको छ।

पूर्वराजा ज्ञानेन्द्रले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले भूमिका निर्वाह गरेको दाबी गर्दै जनताले सुम्पेको जिम्मेवारीबाट आफू कहिल्यै विमुख नभएको बताएका छन्। उनले सबै नेपालीलाई कर्तव्यबोधसहित ‘पृथ्वी पथ’ मा लाग्न आह्वान गरेका छन्।

“नेपाली जहाँ रहे पनि नेपाली नै हुन्छ। राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा जोडिएको हुन्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

देशबाट जनशक्ति निरन्तर पलायन हुँदै जानु भविष्यका लागि गम्भीर संकेत भएको उनको भनाइ छ। युवामात्र होइन, अब पुँजी, पुँजीपति र कर्मवीर उद्यमीसमेत देश छाड्न थालेको उल्लेख गर्दै उनले यस अवस्थालाई मुलुकका लागि अत्यन्तै खतरनाक संकेत भनेका छन्।