नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि, भृकुटीमण्डपमा प्रक्रिया सुरु
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ। विशेष महाधिवेशनका लागि देशभरका जिल्लाबाट पक्षधर महाधिवेशन प्रतिनिधि काठमाडौँ आइपुगेका छन्।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि सुरु हुनेछ। दर्ता कार्यक्रम भृकुटीमण्डपको मूल गेटसँगै राखिएका स्टलमार्फत गरिनेछ।
नाम दर्ताका लागि प्रतिनिधिहरूले परिचय खुल्ने कुनै पनि आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइज फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सचिवालयले जनाएको छ।
विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ। गत असोज २९ गते कांग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। उक्त पहलको अगुवाइ पार्टी महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका हुन्।
कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार आजदेखि दोस्रो विशेष महाधिवेशन सुरु भएको सचिवालयको दाबी छ।
यद्यपि यो महाधिवेशनलाई पार्टीका सबै धारले स्वीकार गरेका छैनन्। संस्थापन पक्ष र केही इतर समूहले यसको वैधतामाथि प्रश्न उठाउँदै आएका छन्।












