एमाले सचिव बस्नेतको कटाक्षः ‘कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, न घरको न घाटको अवस्था’

User Image Prime TV News ४ दिन अगाडि
Image of एमाले सचिव बस्नेतको कटाक्षः ‘कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, न घरको न घाटको अवस्था’

काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य गम्भीर संकटमा परेको टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सँगको पार्टी एकता प्रयास असफल भएपछि घिसिङ अहिले ‘न घरको न घाटको’ अवस्थामा पुगेको बस्नेतको दाबी छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले रवि लामिछानेको भरोसामा पर्दा कुलमान घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने अवसर दुवै गुमाएको उल्लेख गरेका छन्।

उनका अनुसार केही महिनाका लागि पाएको अस्थायी मन्त्री पदले तत्काल लाभ दिएको देखिए पनि दीर्घकालीन रूपमा घिसिङको राजनीतिक भविष्य नै धरापमा परेको छ।

बस्नेतले रवि लामिछानेको राजनीतिक शैलीलाई ‘माकुराको जालो’ सँग तुलना गरेका छन्। एकपटक त्यो जालोमा परेपछि सजिलै उम्किन नसकिने उनको तर्क छ। उनले नेकपा एमाले र नेपाली कांग्रेसजस्ता स्थापित दलहरूलाई ‘चरा’ को संज्ञा दिँदै यस्ता जालो च्यात्ने सामर्थ्य ती दलसँग रहेको दाबी गरेका छन्।

तर कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहजस्ता नयाँ र चर्चित पात्रहरू भने ‘पुतली’ जस्तै भएको उनको टिप्पणी छ।

अन्तर्राष्ट्रिय शक्तिले बुनेको रवि लामिछानेको राजनीतिक जालोमा परेर कुलमान अन्धकारतिर धकेलिएको बस्नेतको दाबी छ। “अस्थायी मन्त्रीको पद केही समयका लागि आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,” उनले लेखेका छन्।

बस्नेतले कुलमानको अवस्था उदाहरणका रूपमा प्रस्तुत गर्दै अब काठमाडौँका मेयर बालेन शाहको पालो आउन सक्ने चेतावनीसमेत दिएका छन्। बालेन पनि रविको राजनीतिक जालोमा पर्ने दिन धेरै टाढा नरहेको उनको बताए ।