इरानमा सरकारविरोधी प्रदर्शन दुई हप्तादेखि जारी, दमन र इन्टरनेट ब्ल्याकआउटले स्थिति झन् गम्भीर

User Image Prime TV News ४ दिन अगाडि
Image of इरानमा सरकारविरोधी प्रदर्शन दुई हप्तादेखि जारी, दमन र इन्टरनेट ब्ल्याकआउटले स्थिति झन् गम्भीर

काठमाडौ । इरानमा डिसेम्बरको अन्त्यतिर सुरु भएको सरकारविरोधी प्रदर्शन दुई हप्ता बितिसक्दा पनि रोकिएको छैन।

सरकार स्वयंले प्रदर्शन भइरहेको स्वीकार गरे पनि आन्दोलनकारीहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ। देशभर इन्टरनेट सेवा निरन्तर बन्द राखिएको छ, जसका कारण इरानभित्रको वास्तविक अवस्था बाहिर आउन कठिन बनेको छ।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी ले प्रदर्शनका क्रममा कम्तीमा ६५ जनाको ज्यान गएको र २,३०० भन्दा बढी मानिस हिरासतमा परेको दाबी गरेको छ। टाइम पत्रिकाले राजधानी तेहरानमा मात्रै २१७ जनाको मृत्यु भएको जनाएको छ।

तर कडा सरकारी नियन्त्रणका कारण यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इरानी सरकारी टेलिभिजनले भने सुरक्षा बलले स्थिति नियन्त्रणमा लिएको दाबी गर्दै सुरक्षाकर्मीहरू पनि हताहत भएको खबर प्रसारण गरिरहेको छ।

प्रदर्शन २८ डिसेम्बरमा इरानी मुद्रा ‘रियाल’मा आएको ऐतिहासिक गिरावटपछि सुरु भएको हो। हाल इरानमा १० लाख रियाल बराबर १ अमेरिकी डलर हुने अवस्थाले अर्थतन्त्र धराशायी भएको संकेत गरेको छ । 

यसबीच इरानी नेतृत्व झन् आक्रामक बन्दै गएको छ। सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले अमेरिकी चेतावनी बेवास्ता गर्दै कडा कारबाहीको संकेत दिएका छन्।

तेहरानका महान्यायाधिवक्ता मोहम्मद मोवाहेदी आजादले प्रदर्शनमा सहभागी हुनेहरूलाई ‘खुदाको शत्रु’ मानिने चेतावनी दिएका छन्। यस्तो आरोप प्रमाणित भए मृत्युदण्डसम्मको सजाय हुन सक्ने सरकारी कानुनी व्यवस्था छ।

इन्टरनेट सटडाउनमाथि निगरानी गर्ने संस्था नेटब्लक्स का अनुसार पछिल्ला ३६ घण्टादेखि इरानमा देशव्यापी इन्टरनेट ब्ल्याकआउट जारी छ।

सुरक्षा निकाय र केही सरकारी सञ्चारमाध्यमबाहेक सर्वसाधारणका लागि इन्टरनेट पूर्ण रूपमा बन्द गरिएको छ। यसले आन्दोलनकारीहरूलाई संगठित हुन नदिनुका साथै दमनका दृश्य बाहिर जान नदिन सरकार प्रयासरत रहेको स्पष्ट देखिन्छ।

अन्तर्राष्ट्रियस्तरमा अमेरिकाले प्रदर्शनकारीहरूको समर्थन जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमार्फत इरानी जनताको पक्षमा उभिएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरेको छ। यसको जवाफमा इरानले आफ्नो सम्प्रभुतामाथि कुनै पनि हस्तक्षेप सह्य नहुने भन्दै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।

यता इरानका अन्तिम शाहका छोरा तथा निर्वासित क्राउन प्रिन्स रजा पहलवीले प्रदर्शन जारी राख्न आह्वान गरेका छन्। उनले प्रदर्शनकारीहरूलाई सिंह र सूर्य अंकित पुरानो इरानी झण्डा र शाहकालीन राष्ट्रिय प्रतीक बोकेर सडकमा उत्रिन आग्रह गरेका छन्।