ग्रिनल्यान्ड आवश्यक भएको ट्रम्पको दाबी, अमेरिका–डेनमार्क तनाव चर्किने संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of ग्रिनल्यान्ड आवश्यक भएको ट्रम्पको दाबी, अमेरिका–डेनमार्क तनाव चर्किने संकेत

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड अधिग्रहण अमेरिकाको सुरक्षाका लागि अपरिहार्य भएको ठोकुवा गरेका छन्।

ह्वाइट हाउसमा तेल तथा ग्यास कम्पनीका प्रमुख कार्यकारीहरूसँगको बैठकमा ट्रम्पले अमेरिका अघि नबढे रुस र चीनले ग्रिनल्यान्ड कब्जा गर्ने खतरा रहेको दाबी गरेका हुन्।

ट्रम्पका अनुसार यो विषय कुनै जग्गा किन्ने मामिलामा सीमित छैन, बरु आर्कटिक क्षेत्रमा रुस र चीनको प्रभाव रोक्ने अमेरिकी रणनीतिसँग जोडिएको छ। उनले भने, “हामी रुस वा चीनलाई ग्रिनल्यान्ड नजिकै देख्न सक्दैनौँ।” सहमतिका आधारमा समाधान खोज्न चाहेको बताउँदै उनले त्यो असफल भए कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए।

ग्रिनल्यान्डका जनतालाई प्रत्यक्ष आर्थिक प्रस्ताव दिने सम्भावनाबारे प्रश्न गर्दा ट्रम्पले अहिले त्यसबारे निर्णय नभएको तर भविष्यमा हुन सक्ने संकेत गरे। यद्यपि उनले डेनमार्कप्रति नरम शब्द प्रयोग गर्दै आफू त्यस देशको प्रशंसक भएको बताए।

ट्रम्पले ग्रिनल्यान्ड आसपास रुसी र चिनियाँ नौसैनिक गतिविधि बढ्दै गएको आरोप लगाएका छन्। आफू पुटिन र सी चिनफिङसँग राम्रो सम्बन्धमा रहे पनि ग्रिनल्यान्ड उनीहरूलाई सुम्पन नसकिने उनको भनाइ थियो।

यस अभिव्यक्तिपछि डेनमार्कले कडा प्रतिक्रिया दिएको छ। डेनमार्कको रक्षा मन्त्रालयले कुनै विदेशी शक्तिले आक्रमण गरे सैनिकहरूले आदेशको प्रतीक्षा नगरी तत्काल गोली चलाउने स्पष्ट चेतावनी दिएको छ। सन् १९४० मा जर्मनीले आक्रमण गर्दा लागू गरिएको यो नियम अहिले पनि कायम रहेको डेनमार्कको भनाइ छ।

करिब ३०० वर्षदेखि डेनमार्कसँग सम्बन्धित ग्रिनल्यान्ड एट्लान्टिक महासागरको रणनीतिक टापु हो। यसको रक्षा र विदेश नीति डेनमार्कले नै हेर्दै आएको छ।