भृकुटीमण्डपमा सुरु हुँदै कांग्रेस विशेष महाधिवेशन, प्रतिनिधि नाम दर्तामा चहलपहल

User Image Prime TV News एक महिना अगाडि
Image of भृकुटीमण्डपमा सुरु हुँदै कांग्रेस विशेष महाधिवेशन, प्रतिनिधि नाम दर्तामा चहलपहल

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

महाधिवेशनको तयारीस्वरूप प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज बिहानदेखि सुरु गरिएको छ । बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने भनिए पनि केही ढिलाइका साथ महाधिवेशन स्थलको मुख्य गेट नजिकै राखिएको स्टलबाट दर्ता कार्य अघि बढाइएको हो ।

कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरूले आवश्यक कागजात पेश गरी परिचयपत्र लिने क्रम जारी छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ ।

प्रतिनिधिहरूले नाम दर्ता गर्दा एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । आज दिउँसो १२ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।

काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न हुने छ । त्यसपछि बन्द सत्र सुरु हुने छ, जसको सभापतित्व पार्टीका जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ । पार्टी विधानको धारा १७(२) अनुसार पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।

यद्यपि संस्थापन पक्षले यस विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आएको छ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।