भृकुटीमण्डपमा सुरु हुँदै कांग्रेस विशेष महाधिवेशन, प्रतिनिधि नाम दर्तामा चहलपहल
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
महाधिवेशनको तयारीस्वरूप प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज बिहानदेखि सुरु गरिएको छ । बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने भनिए पनि केही ढिलाइका साथ महाधिवेशन स्थलको मुख्य गेट नजिकै राखिएको स्टलबाट दर्ता कार्य अघि बढाइएको हो ।
कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरूले आवश्यक कागजात पेश गरी परिचयपत्र लिने क्रम जारी छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ ।
प्रतिनिधिहरूले नाम दर्ता गर्दा एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । आज दिउँसो १२ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।
काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न हुने छ । त्यसपछि बन्द सत्र सुरु हुने छ, जसको सभापतित्व पार्टीका जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ । पार्टी विधानको धारा १७(२) अनुसार पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।
यद्यपि संस्थापन पक्षले यस विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आएको छ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।













