पृथ्वी जयन्तीमा सिंहदरबारमा श्रद्धाञ्जली, राष्ट्र प्रमुखसहित विशिष्ट व्यक्तिहरू सहभागी

User Image Prime TV News ३ दिन अगाडि
Image of पृथ्वी जयन्तीमा सिंहदरबारमा श्रद्धाञ्जली, राष्ट्र प्रमुखसहित विशिष्ट व्यक्तिहरू सहभागी

काठमाडौ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा सिंहदरबारस्थित उनको शालिकमा विशेष कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सिंहदरबारको मूल गेट अगाडि रहेको शालिकमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा माल्यार्पण गरिएको हो । जन्मजयन्ती समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा प्रधानमन्त्री सुशीला कार्की सहभागी भई पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेसहित नेपाल सरकारका मन्त्रीहरू, मुख्यसचिव सुमनराज अर्याल, उच्चपदस्थ सरकारी अधिकारीहरू, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए । साथै समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले पनि राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जली अर्पण गरे ।

हरेक वर्ष पृथ्वी जयन्तीका दिन राष्ट्रप्रमुखसहित राज्यका उच्च पदस्थ व्यक्तिहरूले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै सम्मान प्रकट गर्ने परम्परा रहँदै आएको छ । यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।