कांग्रेस दोस्रो विशेष महाधिवेशन आजदेखि, विधान संशोधन र संगठन सुधारका ठूला प्रस्ताव तयारीमा

User Image Prime TV News ३ दिन अगाडि
Image of कांग्रेस दोस्रो विशेष महाधिवेशन आजदेखि, विधान संशोधन र संगठन सुधारका ठूला प्रस्ताव तयारीमा

काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनले पार्टी संरचना सुदृढ बनाउने र विधान संशोधनसम्बन्धी महत्वपूर्ण नीतिगत निर्णय गर्ने तयारी गरेको छ ।

विशेष महाधिवेशनको मुख्य एजेन्डा पार्टीभित्रको सुधार, समावेशिता विस्तार र विधान संशोधन रहेको छ । महामन्त्री विश्वप्रकाश शर्माले यसअघि प्रस्ताव गरेका विभिन्न विषयलाई औपचारिक रूपमा नीति तथा विधानमा समेट्ने तयारी गरिएको छ ।

महाधिवेशनमा केन्द्रीय कार्यसमितिको आकार विस्तार गरी ३०१ सदस्यीय बनाउने प्रस्ताव पेश हुने भएको छ । यसअनुसार ७७ जिल्लालाई प्रतिनिधित्व गर्ने ७७ सदस्यसहित २६५ जना प्रत्यक्ष निर्वाचित, ३६ जना समावेशी तथा समानुपातिक आधारमा सभापतिबाट मनोनित गरी नयाँ केन्द्रीय कार्यसमिति गठन गरिनेछ । हाल कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय रहेको छ ।

केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिका युवाको २० प्रतिशत र पेसागत क्षेत्रको १५ प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्ने प्रस्ताव पनि महाधिवेशनमा प्रस्तुत गरिनेछ । साथै पार्टीका सबै संरचनामा महिलाको सहभागिता बढाउने नीति लिइने भएको छ ।

केन्द्रमा ४० वर्षमुनिका युवाबाट एक र पेसागत क्षेत्रबाट एक गरी दुई सहमहामन्त्री थप गर्ने व्यवस्था गरिनेछ । प्रदेश कार्यसमितिमा पनि समानुपातिक आधारमा सहमहामन्त्री थप्ने गरी विधान संशोधनको तयारी छ ।

पार्टी पदाधिकारी र जनप्रतिनिधिका लागि कार्यकाल सीमा तोक्ने प्रस्ताव पनि महाधिवेशनको एजेन्डामा छ । यसअनुसार राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीति पार्टीको आधिकारिक मापदण्ड बनाइनेछ ।

समानुपातिक सांसद एक पटकभन्दा बढी हुन नपाउने, प्रत्यक्ष निर्वाचन जितेका वा मन्त्री भइसकेकालाई समानुपातिक सांसद नदिने व्यवस्था पनि विधानमा समेटिने तयारी गरिएको छ । महाधिवेशनपछि पार्टीको शक्तिशाली निकाय महासमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका दुई जना युवा प्रतिनिधि (एक महिला र एक पुरुष) र पेसागत क्षेत्रबाट एक जना प्रतिनिधि रहने व्यवस्था गरिनेछ ।

संघ, प्रदेश र स्थानीय तहमा सरकार सञ्चालनका लागि समन्वय समिति गठन गर्ने र त्यसको संयोजक सम्बन्धित तहका पार्टी सभापति हुने प्रस्ताव पनि अघि सारिएको छ । क्रियाशील सदस्यता केन्द्रमा नपठाई वडास्तरमै टुंग्याउने, महाधिवेशन प्रतिनिधि पनि वडाबाटै छनोट गर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ ।

साथै विज्ञ तथा पेसागत क्षेत्रका व्यक्तिलाई पार्टीमा सिधै प्रवेश गराउने प्रस्तावसमेत महाधिवेशनमा प्रस्तुत हुनेछ । हाल केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाई प्रतिनिधि निर्वाचनमार्फत चयन गर्ने प्रावधान थप गरिनेछ । जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका अधिवेशन प्रतिनिधि पनि निर्वाचनबाटै छनोट गरिने व्यवस्था गरिनेछ ।

प्रत्येक तहको अधिवेशन ३ देखि ६ महिनाको फरकमा गर्ने तथा भ्रातृसंस्थाको पुनः परिभाषा गर्दै तिनलाई स्वायत्त बनाउने प्रस्तावसमेत विशेष महाधिवेशनको एजेन्डामा समेटिएको छ ।