इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन, संगीत र चलचित्र क्षेत्र शोकमा

User Image Prime TV News ३ दिन अगाडि
Image of इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन, संगीत र चलचित्र क्षेत्र शोकमा

काठमाडौ । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको छ । भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि चर्चामा आएका तामाङको निधनको पुष्टि निर्माता राजेश वंशलले गरेका हुन् ।

वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै निधनको जानकारी दिएका हुन् । उनका अनुसार केही दिनअघि मात्र तामाङसँग कुराकानी भएको थियो । “आज अचानक उहाँको निधन भएको खबर सुन्दा विश्वास गर्नै गाह्रो भयो,” उनले भने, “परिवारका सदस्यले हृदयघातका कारण मृत्यु भएको बताएका छन् ।”

गायनसँगै अभिनयमा पनि सक्रिय तामाङ पछिल्लो समय सलमान खान अभिनित चलचित्र ब्याटल अफ गलवान मा अभिनय गरिरहेका थिए । सो चलचित्रको डबिङ कार्य भने पूरा हुन बाँकी रहेको बताइएको छ । नेपाली फिल्म क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रहेको छ । उनले गोर्खा पल्टन, परदेशी र परदेशी २ जस्ता चलचित्रमा अभिनय गर्नुका साथै थुप्रै लोकप्रिय गीतमा स्वर दिएका थिए ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ पछिल्ला वर्षहरूमा दिल्लीमा बस्दै आएका थिए । उनको निधन पनि दिल्लीमै भएको जनाइएको छ । उनको आकस्मिक निधनले नेपाली तथा भारतीय सांगीतिक र चलचित्र क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ ।