डा. शेखर कोइरालाको सन्देशः सभापति वा प्रधानमन्त्री बन्ने लोभ छैन, कांग्रेस एकतामा प्रतिबद्ध बनाउँछु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका छन्।
पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा जारी भिडियो सन्देशमा उनले आफ्नो राजनीतिक सक्रियता शान्त र मधुरो शैलीमा रहेको बताएका छन्। कोइरालाले भने, “म मन्त्री वा महामन्त्री बन्ने लोभले कहिल्यै आकर्षित भएको छैन, सभापति वा प्रधानमन्त्रीको पदले पनि लोभ्याउने छैन।”
आफ्नो परिवारबाट प्राप्त शिक्षा जीवन दर्शन बनेको भन्दै उनले पार्टीको एकताका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए। उनी महाधिवेशनको क्रममा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमा राखिसकेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर सतर्क रहेको बताएका छन्।
पार्टी संक्रमणको समयमा त्याग र अपमान सहन तयार रहेको उनले उल्लेख गर्दै अन्तिमसम्म पार्टीको भावनात्मक एकताको पक्षमा लागिरहने प्रण गरे। डा. कोइरालाले बीपी, सुवर्णशमशेर, गणेशमान, किसुनजी, गिरिजा र सुशील कोइरालासहित अग्रज नेताहरूले छाडेका पदचिह्नबाट विचलित नहुने पनि बताए।
उनले पार्टीभित्र सहमति, सहकार्य र सहअस्तित्व कायम राख्दै महाधिवेशनमार्फत समग्र कांग्रेसको एकता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। देश आगामी निर्वाचनको तयारीमा रहेको र संविधान अस्थिर अवस्थामा पुगेको भन्दै कोइरालाले लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन्।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहर मानेर ऐतिहासिक दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे। कोइरालाले पार्टीभित्र निकासका लागि भगीरथ प्रयास जारी राख्ने र समाधान निस्किएसम्म लागिरहने बताए। “एकताबद्ध भएर अघि बढ्न सके मात्र ‘जय नेपाल’को नाराले गुञ्जन पाउने छ,” उनले भने ।













