इतिहासको ब्याज खाएर मात्रै पार्टी चल्दैन, नयाँ पुस्तालाई अघि ल्याउनुपर्छः गोपालमान श्रेष्ठ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीले अब इतिहासमा निर्भर भएर मात्र अघि बढ्न नहुने स्पष्ट पारेका छन्।
आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सम्बोधन गर्दै उनले कांग्रेसले समयअनुसार अघि बढ्नुपर्ने र नयाँ पुस्ता र जनताको आकांक्षा पूरा गर्नेगरी नेतृत्व गठन गर्नुपर्ने बताए। श्रेष्ठले भने, “अब इतिहासको ब्याज मात्र खाएर भविष्य चल्दैन। राणा शासनविरुद्ध लडेको, पञ्चायविरुद्ध लडेको, २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको वा राजतन्त्र फालेको मात्र भएर पार्टी अघि बढ्दैन।”
उनले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रियता नै खतरामा परेको भन्दै दलगत गुटमा नफस्न सबैमा आह्वान गरे। “देशको स्थिति जटिल छ। अब पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्छ, गुटको त कुरै नगरौँ,” उनले भने।
श्रेष्ठले ऐतिहासिक विशेष महाधिवेशन सफल बनाउन सबैलाई शुभकामना दिँदै, ७० वर्षपछि यस्तो महाधिवेशन आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे।













