नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ४९ प्रतिशत प्रतिनिधिले नाम दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज भृकुटीमण्डपमा सुरु भएको छ।
कार्यक्रम स्थलमा बिहान सवा ८ बजेबाट प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको थियो र अहिलेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्। देशभरबाट कुल ४,७४३ प्रतिनिधि सहभागी हुने कार्यक्रमका लागि सातवटै प्रदेशमा छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ।
सहभागीहरूले पहिचान पत्र, पासपोर्ट साइज फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ लिएर आउनुपर्ने जानकारी दिइएको छ। गत असोज २९ गते, ५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए।
कांग्रेस विधानको दफा १७(२) अनुसार, कम्तीमा ४० प्रतिशत प्रतिनिधिको माग प्राप्त भएपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्न सकिन्छ। विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पार्टीको पुनर्जागरण र सुधारका लागि दुईदिने रूपमा सञ्चालन भइरहेको छ।













