जसपा र लोसपा बिच औपचारिक रुपमा एकताका प्रक्रिया अघि बढ्यो, केन्द्रीय समन्वय समिति गठन

User Image Prime TV News ३ दिन अगाडि
Image of जसपा र लोसपा बिच औपचारिक रुपमा एकताका प्रक्रिया अघि बढ्यो, केन्द्रीय समन्वय समिति गठन

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकतालाई अघि बढाउने उद्देश्यसहित १२ बुँदे सहमति भएको छ। सहमतिसँगै दुवै पार्टीले एकीकरण प्रक्रिया सम्पन्न नहुन्जेलसम्म पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेका छन्।

समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन्। समितिले आगामी दिनमा ११ सदस्यीय सचिवालय गठन गरी संगठनात्मक कामलाई व्यवस्थित रूपमा अघि बढाउने सहमति गरिएको छ।

सहमति अनुसार एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल रहनेछ। पार्टी एकताको सम्पूर्ण प्रक्रिया प्रचलित कानुनअनुसार सम्पन्न गरिने र एकता पूरा नहुन्जेलसम्म समन्वय समितिले पार्टीका सबै गतिविधि सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

दुवै पार्टीका भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरू जसपा नेपालअन्तर्गत रही समन्वय समितिको मातहतमा काम गर्ने सहमति भएको छ। एकीकरण र समायोजन प्रक्रिया सम्पन्न नहुँदासम्म पार्टीका अन्य संगठन तथा विभागहरू पनि आ–आफ्नो जिम्मेवारीअनुसार समन्वय समितिकै निर्देशनमा रहनेछन्।

सहमति पत्रमा फागुन २१ गते हुने चुनावका लागि उम्मेदवार चयन गर्दा महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त हस्ताक्षर रहने व्यवस्था गरिएको छ। यससँगै, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ।