शासन गर्न नसक्दा देश संकटमा पर्योः कांग्रेस नेता चन्द्र भण्डारी

User Image Prime TV News एक महिना अगाडि
Image of शासन गर्न नसक्दा देश संकटमा पर्योः कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलहरू शासन सत्ता सञ्चालन गर्न असफल भएकै कारण देश अहिले गम्भीर संकटमा परेको बताएका छन्।

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले देश र प्रजातन्त्र दुवै जोखिममा परेको उल्लेख गरे। पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’पछि मुलुक थप संकटतर्फ धकेलिएको उनको भनाइ थियो।

‘यो देश र प्रजातन्त्र जोगाउनु छ,’ उनले भने, ‘हामीले आन्दोलन त धेरै गर्‍यौं तर शासन चलाउन सकेनौं।’ भण्डारीले अहिलेसम्म भएका विभिन्न राजनीतिक आन्दोलनहरूले सत्ता परिवर्तन त गराए पनि सुशासन र प्रभावकारी नेतृत्व दिन नसकेको स्वीकार गरे।

असल र सक्षम व्यक्तिको अभाव हुँदा जति पद बाँडे पनि मुलुक अघि बढ्न नसक्ने उनको भनाइ थियो। ‘असल मान्छे बिना मुलुक बन्दैन,’ उनले भने, ‘हामी समाजमा आशा जगाउन असफल भयौं।’

उनले विशेष महाधिवेशनलाई कांग्रेस र देश दुवैका लागि निर्णायक अवसरको रूपमा चित्रण गरे। अब समाजमा भरोसा र आशा जगाउने उपयुक्त नीति तथा नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशनले मुलुकलाई सही दिशामा लैजान सक्ने नेतृत्व चयन गर्नुपर्ने भन्दै भण्डारीले पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।