कांग्रेसलाई विधिमा चलाउने समय आएको छः पुष्पा भुसाल
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले पार्टीलाई अब गुटबन्दी र पहुँचको राजनीतिबाट मुक्त गरेर विधि र विधानअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन्।
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै भुसालले विशेष महाधिवेशन कांग्रेसभित्र देखिएको अन्योल र निराशा चिर्ने अवसर भएको बताइन्। उनका अनुसार पार्टीभित्र देखिएको गुटगत स्वार्थ, हिंसात्मक प्रवृत्ति र कृपाको राजनीति अन्त्य नगरेसम्म संगठन बलियो बन्न सक्दैन।
‘कांग्रेस गुटबाट मुक्त हुनुपर्छ, हिंसाबाट टाढा रहनुपर्छ र कृपाको संस्कार त्याग्नुपर्छ,’ भुसालले भनिन्। संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको सन्दर्भ उल्लेख गर्दै उनले महाधिवेशन प्रतिनिधिको चाहनालाई सम्मान गर्न आफूहरू उपस्थित भएको बताइन्।
उनले घरघरमा गएर संवाद गर्दा पनि अपेक्षित सहमति नजुटेपछि बहुमत प्रतिनिधिको हस्ताक्षरको कदर गर्दै विशेष महाधिवेशनमा उभिएको स्पष्ट पारिन्। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई बेवास्ता गर्न मिल्दैन,’ उनले भनिन्, ‘हामी त्यही जनभावनाको सम्मान गर्न यहाँ आएका हौँ।’
भुसालले विशेष महाधिवेशनले कांग्रेसलाई नीतिगत स्पष्टता, संगठनात्मक एकता र नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार अब पार्टीले विधि, विधान र लोकतान्त्रिक अभ्यासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।












