नियमित महाधिवेशनमा नेतृत्वको उदासीनताले विशेष महाधिवेशन गर्नुपरेको हो : प्रदीप पौडेल

User Image Prime TV News ३ दिन अगाडि
Image of नियमित महाधिवेशनमा नेतृत्वको उदासीनताले विशेष महाधिवेशन गर्नुपरेको हो : प्रदीप पौडेल

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी नेतृत्वले समयमा नियमित महाधिवेशन गर्न ध्यान नदिँदा विशेष महाधिवेशन गर्न बाध्य हुनुपरेको बताएका छन्।

आइतबार काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विधानले व्यवस्था गरेअनुसार नै विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारे। समयमै नियमित महाधिवेशन सम्पन्न गर्न सकेको भए विशेष महाधिवेशन स्वतः रद्द हुनसक्ने अवस्था हुँदाहुँदै पनि नेतृत्वले चासो नदेखाएको उनको भनाइ थियो।

“विशेष महाधिवेशन आफैँ निष्क्रिय हुन्छ भन्ने दम्भमा नेतृत्व बस्यो,” पौडेलले भने, “तर विधानले तोकेको समयसीमाभित्र नियमित महाधिवेशन हुन नसकेपछि आज हामी विशेष महाधिवेशन गर्न बाध्य भएका छौँ।”

उनले विशेष महाधिवेशनको मागलाई पार्टी फुटाउने प्रयासका रूपमा व्याख्या गर्नु गलत भएको बताए। महाधिवेशन प्रतिनिधिहरूको संवैधानिक अधिकार प्रयोगलाई अपमान गर्न नहुने उल्लेख गर्दै उनले गणितीय रूपमा विश्वास प्राप्त हुन नसकेमा नेतृत्वले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे।

“यो कुनै व्यक्तिको चाहना होइन, विधानले व्यवस्था गरेको प्रक्रिया हो,” उनले भने, “केन्द्रीय समिति वा कार्यसम्पादन समितिले विधानलाई निर्देशित गर्न सक्दैन, विधानले नै सबैलाई निर्देशित गर्छ।”

पौडेलले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रूपमा सीमित गरेर हेर्न नमिल्ने बताउँदै यसलाई देशमा विद्यमान बेथिति, विभेद र अन्यायविरुद्धको अभियानको रूपमा व्याख्या गरे। नेपाली कांग्रेस दलित, मधेशी, जनजाति तथा सिमान्तकृत समुदायमाथि हुने विभेदविरुद्ध निरन्तर लड्दै आएको पार्टी भएको उनको भनाइ थियो।