विशेष महाधिवेशनबाट कांग्रेसलाई पराक्रमको बाटोमा लैजानुपर्ने अर्जुननरसिंह केसीको भनाई
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई अब परिक्रमावादी सोचबाट मुक्त गर्दै साहसी र परिणाममुखी पराक्रमवादी शक्तिका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीभित्र केवल औपचारिक गतिविधिमा सीमित रहने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताए। उनले स्पष्ट शब्दमा भने, “अब परिक्रमावादीहरूको कांग्रेस होइन, देशका लागि पराक्रम देखाउनेहरूको कांग्रेस चाहिन्छ।”
केसीले देश भ्रष्टाचारको गहिरो दलदलमा फसेको टिप्पणी गर्दै त्यसविरुद्ध कडा कदम चाल्न विशेष महाधिवेशनले मार्गनिर्देशन गर्नुपर्ने धारणा राखे। भ्रष्टाचार नियन्त्रणका लागि विगतदेखि अहिलेसम्म सार्वजनिक पदमा बसेका सबै व्यक्तिलाई निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।
उनले कालोधन र अवैध कारोबार नियन्त्रण गर्न मौद्रिक संरचनामा सुधार आवश्यक रहेको उल्लेख गर्दै पाँच सय र एक हजार दरका नोट प्रतिस्थापन गर्ने विषयमा पनि बहस गर्नुपर्ने बताए। लोकतन्त्र, सुशासन र पारदर्शिताप्रति कांग्रेसको प्रतिबद्धता पुनःस्थापित गर्न विशेष महाधिवेशन निर्णायक बन्नुपर्ने भन्दै केसीले यस अवसरलाई पार्टी सुधारको ऐतिहासिक मोडका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।












