नेपाली कांग्रेसलाई बदल्ने छौं, हामी पनि बदलिने छौः विश्वप्रकाश शर्मा
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुरानै ढङ्गबाट अघि बढ्न नसक्ने बताएका छन्।
आइतबारबाट सुरु भएको विशेष महाधिवेशनलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले नेतृत्वको कमजोरी स्वीकार्दै त्यसको हिस्सा आफूहरूले पनि लिने बताएका छन्। महामन्त्री शर्माले भने, “पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन। नयाँ परिस्थितिमा मनस्थिति र सोच पनि बदल्नुपर्छ। यो देशको मौसम खराबीलाई बुझेपछि बदलिएको मौसमलाई नयाँ ढङ्गले सामना गर्ने मनोविज्ञानमा छौं।”
उनी देशलाई निराशाबाट निकालेर नयाँ सङ्कल्पका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्। शर्माले थपे, “जिम्मेवार राजनीतिक दल र नेता त्यो हुन्छ जसले आफूले गरेका कमजोरीको आत्मालोचना पनि गर्छ। हामी नेपाली कांग्रेसलाई बदल्ने छौं, हामी पनि बदलिने छौं।”
महामन्त्री शर्माले कांग्रेस मात्र नभएर कमजोर बनेको देशलाई बलियो बनाउने अभियानमा लागेको बताए। उनले विध्वंशमा परेको देशमा भवन मात्र नभई मन पनि जोड्न विशेष महाधिवेशन आह्वान गरिएको र नवीन सन्देश दिन खोजिएको स्पष्ट पारे।













