कांग्रेस दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज, प्रतिनिधि संख्या ५६ प्रतिशत नाघ्यो
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज सोमबार बिहान १० बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ।
प्रतिनिधि दर्ता प्रक्रिया पूरा नभएकाले सुरुमा तय गरिएको समयभन्दा दुई घण्टा ढिलो गरी बन्दसत्र गर्न लागिएको हो। व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि प्रतिनिधिहरूको दर्ता र खाजाको व्यवस्था गरिएको छ
दर्ता प्रक्रिया सकिएपछि १० बजेदेखि बन्दसत्र औपचारिक रूपमा सुरु हुनेछ। विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या २ हजार ६६२ पुगेको छ, जुन कुल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो।
यसअघि असोज महिनामा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन गरिएको थियो। २०७८ सालको १४औँ महाधिवेशनमा कांग्रेसका कुल ४ हजार ७ सय ४३ प्रतिनिधि थिए।
आइतबार उद्घाटन सत्रपछि दर्ता फाइल बन्द गरिएको र रात्रिभोज कार्यक्रम चलेकाले धेरै प्रतिनिधि दर्ता गर्नबाट वञ्चित भएका थिए। यहि कारण सोमबार बिहानदेखि दर्ता प्रक्रिया पुनः सञ्चालन गरिएको व्यवस्थापन पक्षले जनाएको छ।
बन्दसत्रमा पार्टीको संगठनात्मक संरचना, नेतृत्वको कार्यशैली र विशेष महाधिवेशनको निष्कर्षबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।













