ट्रम्पको दबाबपछि अमेरिका र क्युबा तनाव चर्कियो, तेल नाकाबन्दीले संकट गहिरिँदै
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई ‘तत्काल सम्झौता गर्न’ चेतावनी दिएपछि अमेरिका र क्युबा सम्बन्ध झनै तनावपूर्ण बनेको छ।
भेनेजुएलाबाट क्युबातर्फ जाने तेल र पैसाको प्रवाह पूर्ण रूपमा रोक्ने घोषणा गर्दै ट्रम्प प्रशासनले क्युबामाथि कडा आर्थिक दबाब सिर्जना गरेको हो।
जनवरी ३ मा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई काराकसबाट नियन्त्रणमा लिएपछि वासिङ्टनको रणनीति क्युबातर्फ केन्द्रित भएको देखिन्छ। भेनेजुएलाले क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल आपूर्ति गर्दै आएको विश्वास गरिन्छ । जसमा रोक लगाइएपछि क्युबामा इन्धन अभाव र विद्युत् संकट तीव्र बन्दै गएको छ।
अमेरिकाले प्रतिबन्ध उल्लंघनको आरोपमा भेनेजुएलाको तेल बोकेका ट्याङ्करहरू जफत गर्ने अभियान तीव्र पारेको छ। पछिल्लो केही दिनमै पाँचवटा ट्याङ्कर नियन्त्रणमा लिइएपछि क्युबाको ऊर्जा आपूर्ति झन् अस्थिर बनेको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत क्युबाले भेनेजुएलाका ‘तानाशाहहरूलाई सुरक्षा सेवा’ दिएको आरोप लगाउँदै अब तेल र पैसा दुवै ‘शून्य’ हुने घोषणा गरेका छन्। तर उनले कस्तो सम्झौता चाहिएको हो भन्ने कुरा खुलाएका छैनन्, जसले अनिश्चितता थपेको छ।
क्युबाले भने अमेरिकी चेतावनीलाई सिधै अस्वीकार गरेको छ। विदेशमन्त्री ब्रुनो रड्रिग्वेजले क्युबालाई कुनै पनि मुलुकबाट इन्धन आयात गर्ने सार्वभौम अधिकार रहेको स्पष्ट पार्दै अमेरिकाको एकपक्षीय हस्तक्षेप अस्वीकार्य भएको बताएका छन्। क्युबाका राष्ट्रपतिले पनि बाह्य निर्देशन स्वीकार नगर्ने कडा सन्देश दिएका छन्।












