ट्रम्पले घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

User Image Prime TV News २ दिन अगाडि
Image of ट्रम्पले घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ घोषणा गर्दै सामाजिक सञ्जालमार्फत नयाँ सनसनी फैलाएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा डिजिटल रूपमा सम्पादित एक तस्बिर सेयर गर्दै उक्त दाबी गरेका हुन्।

ट्रम्पले पोस्ट गरेको तस्बिरमा उनलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भनेर उल्लेख गरिएको छ। भेनेजुएलामा पछिल्लो समय विकसित घटनाक्रमको पृष्ठभूमिमा गरिएको यो पोस्टले अन्तर्राष्ट्रिय राजनीतिमा चासो र विवाद दुवै सिर्जना गरेको छ।

यद्यपि ट्रम्पको यो दाबी कुनै आधिकारिक, संवैधानिक वा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त घोषणा भने होइन। यो पोस्ट राजनीतिक सन्देश, दबाब रणनीति वा व्यंग्यात्मक अभिव्यक्तिको रूपमा गरिएको हुनसक्ने अनुमान गरिएको छ।

समाचारहरूका अनुसार हालै भेनेजुएलामा ठूला राजनीतिक उतारचढाव देखिएका छन्। अमेरिकी नेतृत्वमा गरिएको सैन्य कारबाहीपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेको दाबी गरिएको छ। त्यसपछि त्यहाँ सत्ता संरचनामा परिवर्तन आएको र कार्यवाहक नेतृत्वको विषयमा अन्योल देखिएको बताइन्छ। यहि पृष्ठभूमिमा ट्रम्पको सामाजिक सञ्जाल पोस्ट आएको हो, जसले भेनेजुएलाको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनमाथि प्रश्न उठाएको छ।

भेनेजुएला विश्वका ठूला तेल भण्डार भएका देशहरूमध्ये एक हो। अमेरिका आफ्ना तेल कम्पनीहरूले भेनेजुएलामा पुनः लगानी गर्न सकून् भन्ने चाहनामा रहेको विश्लेषण गरिन्छ। भेनेजुएलाको तेल उत्पादन र पूर्वाधार पुनर्निर्माण गर्दै विश्वव्यापी तेल बजारमा अमेरिकाको प्रभाव कायम राख्नु ट्रम्प प्रशासनको रणनीतिक लक्ष्यका रूपमा हेरिएको छ ।