गगन थापा प्रति संकेत गर्दै शंकर पोखरेलले भने 'देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि दासजस्ता देखिन सक्छन्'
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश गम्भीर संकटमा रहेको अवस्थामा उत्सव मनाउन नसक्नेहरूलाई ‘दास’ ठानिए पनि ती नै समयका ‘स्पार्टाकस’ बन्न सक्ने बताएका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका हुन्।
आइतबार कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री थापाले एमालेप्रति संकेत गर्दै कांग्रेस ‘दास र लासहरूको पार्टी नभएको’ बताएका थिए। “कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो, यहाँ प्रश्न मरेको छैन,” भन्दै उनले राजनीतिक सक्रियता र उत्सवलाई जोड दिएका थिए।
थापाको यही भनाइलाई लक्षित गर्दै एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, “देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि दासजस्ता देखिन सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।”
पोखरेलले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानका लागि उभिनेहरू नै परिवर्तनका संवाहक हुने उल्लेख गर्दै अराजकता र विध्वंसका सामु झुक्नु कायरता भएको बताएका छन्। उनले संकटको घडीमा जनताको मनोबल उठाउँदै प्रतिरोधमा उभिनु नै साहस भएको बताए ।
संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य संकटमा परेको दाबी गर्दै उनले यस्तो अवस्थामा उत्सवको औचित्यमाथि प्रश्न उठाएका छन्। “जनजनको हृदय जलिरहेको बेला उत्सव कसरी सम्भव हुन्छ?” उनले लेखेका छन्। उनले भूराजनीतिक दबाबतर्फ संकेत गर्दै भनेका छन्, “भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो, त्यसको विरोध गर्नु स्वाभिमान हो।”












