अन्तर्राष्ट्रिय तनावको असरः नेपाली बजारमा सुन–चाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा

User Image Prime TV News २ दिन अगाडि
Image of अन्तर्राष्ट्रिय तनावको असरः नेपाली बजारमा सुन–चाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा देखिएको तीव्र मूल्यवृद्धिको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको छ ।

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँले बढी हो । यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ २ सय ५ रुपैयाँले वृद्धि भएको हो । आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीले नयाँ रेकर्ड कायम गरेपछि नेपाली बजारमा मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । सोमबार अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ५ सय ५० अमेरिकी डलर नाघेको छ भने चाँदीको मूल्य प्रतिऔंस ८३ डलरभन्दा माथि पुगेको छ । एक औंस बराबर २ दशमलव ४३ तोला हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार विश्वव्यापी तनाव नै मूल्यवृद्धिको मुख्य कारण हो । “अन्तर्राष्ट्रिय तनाव, द्वन्द्व वा राजनीतिक अस्थिरता बढ्दा लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुन र चाँदीतर्फ आकर्षित हुन्छन्,” उनले भने, “अहिले पनि यही प्रवृत्तिका कारण मूल्य आकासिएको हो।”