प्रतिनिधिसभा निर्वाचनको तयारीमा बालेन शाह, माघ ५ गते मेयर पदबाट राजीनामा दिने सम्भावना

User Image Prime TV News ३ दिन अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनको तयारीमा बालेन शाह, माघ ५ गते मेयर पदबाट राजीनामा दिने सम्भावना

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संघीय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएका छन् । स्रोतका अनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि माघ ५ गते मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

बालेन शाह निकट स्रोतका अनुसार राजीनामापछि उनी निर्वाचन केन्द्रित गतिविधिका लागि झापा जाने कार्यक्रम बनाइरहेका छन् । उनी झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने विषयमा छलफलमा रहेको बताइन्छ । सो क्षेत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने सम्भावनाबारे आन्तरिक संवाद भइरहेको स्रोतको दाबी छ ।

“निर्वाचनमा होमिनका लागि उहाँले पद छोड्ने निर्णय लिनुभएको छ,” स्रोतले भन्यो, “माघ ५ गते राजीनामा बुझाउने तयारी अन्तिम चरणमा पुगेको छ।” यद्यपि, यस विषयमा बालेन शाहले सार्वजनिक रूपमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । काठमाडौँ महानगरपालिकाले पनि मेयरको राजीनामाबारे आधिकारिक पुष्टि गरेको छैन ।

यदि राजीनामा औपचारिक रूपमा स्वीकृत भएमा काठमाडौँ महानगरपालिकामा कार्यवाहक मेयरको व्यवस्था कानुनअनुसार गरिनेछ । यसले महानगरको प्रशासनिक तथा विकास योजनामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित बालेन शाहको संघीय राजनीतिमा सम्भावित प्रवेशलाई नयाँ राजनीतिक समीकरणका रूपमा हेरिएको छ ।