कांग्रेसको विशेष महाधिवेशन: आज बन्दसत्र, चारवटा विषयमा नीति मन्थन

User Image Prime TV News ३ दिन अगाडि
Image of कांग्रेसको विशेष महाधिवेशन: आज बन्दसत्र, चारवटा विषयमा नीति मन्थन

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रमार्फत जारी हुँदैछ।

हिजोबाट सुरु भएको महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुने कार्यतालिका तय गरिएको महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुभाष पोखरेलले जानकारी दिए। आजको बन्दसत्रमा पहिलो चरणमा महाधिवेशनको कार्यविधि बनाउने प्रक्रिया सम्पन्न हुनेछ।

त्यसपछि नौ समूहमा विभाजन गरेर चारवटा मुख्य विषयमा बृहत् नीति मन्थन गरिनेछ। नीति मन्थनका विषयहरूमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषय समावेश छन्।

पोखरेलका अनुसार नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्नेबारे छलफल हुनेछ। यदि नेतृत्व परिवर्तन गर्ने निर्णय भएमा निर्वाचन समिति गठन गरी प्रक्रिया अघि बढाइनेछ। नयाँ कार्यसमिति निर्विरोध बन्ने सम्भावना रहेकाले मतदान नहुने सम्भावना पनि रहेको उनले बताए।

महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहनेछ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार अधिकांश प्रतिनिधिहरू आज बिहान मात्र आइपुगेका कारण उनीहरूले समयमै दर्ता गर्न सकून् भनी यो व्यवस्था मिलाइएको हो।