नेपाली कांग्रेसले पारित गर्यो ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाली कांग्रेसले पारित गर्यो ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’

काठमाडौ । नेपाली कांग्रेसले सोमबार भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनको बन्द सत्र बाट ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ।

पारित कार्यविधि अनुसार, २०७८ मंसिरमा सम्पन्न चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थामा सो समिति विघटन गरिने व्यवस्था गरिएको छ। साथै, १५औँ महाधिवेशनसम्म पार्टी सञ्चालनका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न पनि स्पष्ट प्रावधान गरिएको छ।

कार्यविधिले महाधिवेशनमा पेस हुने प्रस्तावहरूमा समसामयिक राजनीतिक समीक्षा, पार्टी नीति, विधान संशोधन र संरचनागत सुधार लगायतका विषयहरू छलफल हुने व्यवस्था गरेको छ। चौधौं महाधिवेशनपछिका केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समिति पनि विघटन हुनेछन्।

नयाँ नेतृत्व चयनका लागि एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन हुने छ । जसले आवश्यक कार्यविधि र निर्देशिका आफैं तय गर्ने अधिकार पाउनेछ। महाधिवेशनका निर्णय प्रमाणित गर्न पाँच सदस्यीय निर्णय प्रमाणीकरण समिति पनि गठन गरिनेछ।

महाधिवेशनको अध्यक्षता सभापतिले गर्नेछन् । उनको अनुपस्थित भएमा ज्येष्ठ सदस्यले अध्यक्षता ग्रहण गर्नेछन्। बन्दसत्र सञ्चालनका लागि प्रतिनिधिहरूमध्ये ५ सदस्यीय अध्यक्षता मण्डल गठन हुने र ध्वनीमतका आधारमा बहुमत निर्णय पारित हुने व्यवस्था छ।

त्यसैगरी, कार्यविधिले केन्द्रीय कार्यसमितिले विगतमा गरेका निर्णयहरूको पुनरावलोकन र आवश्यक परे खारेज गर्ने अधिकार विशेष महाधिवेशनलाई दिएको छ।