नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २५ अर्ब रूपैयाँको ऋणपत्र बिक्री गर्ने

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २५ अर्ब रूपैयाँको ऋणपत्र बिक्री गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मध्यान्ह २ बजे २५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्न लागेको छ। यो महिनामा राष्ट्र बैंकले सातौं पटक ऋणपत्र बिक्री गर्ने हो।

राष्ट्र बैंकले यसअघि पुस महिनामा २५–२५ अर्ब, २० अर्ब र १० अर्बको ऋणपत्र बिक्री गरिसकेको छ। आजको बिक्रीसँगै यस महिनामा कुल १ खर्ब ५५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्री भइसकेको हुनेछ।

यो ऋणपत्र क, ख, ग वर्गका बैंक मात्र खरिद गर्न सक्नेछन्। बैंकहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्नेछ र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिइनेछ। प्रत्येक बैंकले कुल आह्वान रकमसम्म पाँच करोड रूपैयाँ घटाएर वा थपेर प्रस्ताव पेश गर्न सक्नेछन्।

ऋणपत्रको अवधि एक वर्षको रहेको छ र २०८३ पुस २८ गते मूलधन भुक्तानी हुनेछ। ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने छ। नेपाल राष्ट्र बैंकले यो कदम बैंकहरूमा जमेको तरलता व्यवस्थापन गर्न उठाएको हो।

हाल कर्जाको माग न्यून भएकाले बैंकहरूमा करिब १२ खर्ब रूपैयाँ तरलता जमेको छ। राष्ट्र बैंकले यसअघि पनि विभिन्न उपकरणमार्फत बैंकहरूमा भएको अतिरिक्त रकम व्यवस्थापन गर्दै आएको छ।