डा. शेखर कोइरालाले पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ दिँदै पार्टी फुट्न नदिनेमा सबैलाई ढुक्क रहन आग्रह गरेका छन्।
डा. कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्तासँगको छलफलमा पार्टीलाई फूटबाट जोगाउन निरन्तर संवाद र समन्वयमा रहेको जानकारी गराएका हुन्। उनले भने, “पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुँदैन। तपाईंहरू ढुक्क हुनुहोस्, निरास हुने कामै छैन।”
अन्तरक्रियामा डा. कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आफ्नो अन्तिम प्रयासमा रहेको दाबी गरेका छन्। आफू विष पिएर पनि पार्टीभित्रको एकता कायम गर्ने प्रयास जारी रहेको उनले स्पष्ट पारेका छन्।
छलफलमा सहभागी कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्य समितिलाई मात्र रहेको जानकारी दिएका छन्। यस अवसरमा पार्टीका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य बल.ब. केसी, मिनेन्द्र रिजाल, र वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको उपस्थिति रहेको थियो।












