नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समूहगत छलफल सुरु, नयाँ नेतृत्व चयनको तयारी

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समूहगत छलफल सुरु, नयाँ नेतृत्व चयनको तयारी

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र नेतृत्वको विषयमा समूहगत छलफल सुरु भएको छ। महाधिवेशनको बन्द सत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावहरू पेश भएपछि प्रतिनिधिहरूलाई ९ वटा समूहमा विभाजन गरी चार मुख्य विषयमा सुझाव सङ्कलन गर्न लगाइएको छ।

प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार समूहहरूले छलफल गर्ने विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन समावेश छन्। आज दिउँसोको खानापछि प्राप्त सुझावहरूलाई महाधिवेशनमा पेश गरिनेछ।

पोखरेलले भने, “हामीले प्रस्तावहरू पेश गरिसकेका छौँ। अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।” उनले महाधिवेशन अझै तीन दिनसम्म लम्बिन सक्ने संकेत पनि दिएका छन्।

महाधिवेशनको कार्यतालिकाअनुसार समूहगत छलफल सकिएपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। त्यसपछि उम्मेदवारी दर्ता, दाबी विरोध र अन्ततः निर्वाचन मार्फत नयाँ नेतृत्व र कार्यविधि पारित गरिने तयारी छ।

संस्थापन पक्षको अनुपस्थिति रहे पनि विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिको उपस्थिती रहेको छ, जसले पार्टी भित्रको निर्णय प्रक्रियामा व्यापक सहभागिता दर्शाएको छ।