गृह मन्त्रीद्वारा प्रहरीलाई उच्च मनोबल र अहिंसावादी कार्यशैली अपनाउन निर्देशन


काठमाडौ । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटका अधिकृतहरूलाई उच्च मनोबलका साथ आफ्नो कार्यमा लाग्न निर्देशन दिएका छन्।
जेनजी आन्दोलनपछि क्षतिग्रस्त भएका काठमाडौंका केही प्रहरी कार्यालयहरूको निरीक्षण पश्चात बिहीबार बिहान नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात गर्दै प्रहरी कर्मचारीहरूलाई आफ्नो कर्तव्य पालनामा सजग र जिम्मेवार बन्न प्रेरित गरेका छन्।
उनले भने, “तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी निभाउनुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ। यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीहरूको पक्षमा छ।"
मन्त्री अर्यालले आफ्नो शाकाहारी र अहिंसावादी स्वभावको बारेमा चर्चा गर्दै प्रहरीलाई पनि अहिंसावादी शैलीमा पेश हुन निर्देशन दिएका छन्। गृहमन्त्रीको यस ब्रिफिङमा देशभरिका प्रहरी कार्यालय प्रमुखहरू भर्चुअल माध्यमबाट जोडिएका थिए।
यस कदमले नेपाल प्रहरीको कार्यक्षमता र समग्र सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनका लागि सरकारको गम्भीर प्रयासलाई जनाउँछ।