नेप्से आज घट्यो, कारोबार ६ अर्ब नजिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । यो साता शेयर बजार खुलेको पहिलो दिन नेप्से परिसूचक ५.५४ अंकले तल झरेर २,६३५ अंकमा पुगेको छ।
प्रतिशतगत हिसाबमा बजार ०.२० प्रतिशतले घटेको हो। बजार समग्रमा घटे पनि केही समूहमा हरियाली देखिएको छ। विकास बैंक, होटल, उत्पादनमूलक र म्युचअल फण्डका शेयरमा सकारात्मक कारोबार भएको छ भने बाँकी समूह राताम्मे रहेका छन्।
आज ३३३ कम्पनीका १ करोड २३ लाख ९ हजार ७ सय ४४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। व्यक्तिगत कम्पनीमा, एसवाई प्यानल र श्रीनगर एग्रिटेकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् भने सुपरमादी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.२५ प्रतिशत घाटा व्यहोरेका छन्।
विशेष रूपमा, एसवाई प्यानलमा उच्च कारोबार भएको छ र यस कम्पनीको शेयरबाट ४२ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। गत आइतबार राष्ट्रिय एकता दिवसका अवसरमा शेयर बजार बन्द थियो।













