विशेष महाधिवेशनले कांग्रेसभित्र तरंग, देउवाको छलफलमा शेखर कोइरालाको सहभागिता
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू निकट नेताहरूको छलफलमा नेता शेखर कोइराला पनि सहभागी भएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गरेसँगै देउवाले महाराजगन्जमा आफ्ना निकट नेताहरूलाई छलफलका लागि बोलाएका थिए। छलफलमा नेता कोइराला आफ्ना निकट नेताहरूसहित पुगेका हुन्।
छलफलमा सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, मिनेन्द्र रिजाललगायत नेताहरू सहभागी छन्। देउवाले छलफलमा कानुन व्यवसायीहरूलाई समेत बोलाएका छन्। भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको बन्द सत्रमा देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भइसकेको छ।
विशेष महाधिवेशनको प्रक्रियाले पार्टीभित्र उत्पन्न हुन सक्ने राजनीतिक तथा कानुनी अवस्थाबारे छलफल गर्न सभापति देउवाले आफू निकट नेताहरूसँग परामर्श थालेका हुन्। यसअघि बिहीबार बिहान नेता शेखर कोइरालाले पनि आफू निकट पदाधिकारी, केन्द्रीय सदस्य तथा कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए।
विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनतर्फ पार्टी अगाडि बढिरहँदा संस्थापन पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।













