विशेष महाधिवेशनका बीच खड्काको सन्देश: पार्टी एकता जोगाउँदै निर्वाचनमा केन्द्रित हुन आग्रह

User Image Prime TV News २ दिन अगाडि
Image of विशेष महाधिवेशनका बीच खड्काको सन्देश: पार्टी एकता जोगाउँदै निर्वाचनमा केन्द्रित हुन आग्रह

काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन जारी रहेका बेला उनले विज्ञप्ति जारी गर्दै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। खड्काले विशेष महाधिवेशनका नाममा पार्टीभित्र विभाजनको अवस्था सिर्जना हुनु उपयुक्त नहुने उल्लेख गर्दै सबै पक्षलाई संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरेका छन्।

पार्टीलाई बलियो बनाउने आधार एकता नै भएको भन्दै उनले आन्तरिक असमझदारीलाई बढावा दिने गतिविधिबाट टाढा रहन अनुरोध गरेका छन्। आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीति र नेतृत्वमा आवश्यक परिवर्तन सहज रूपमा सम्भव हुने अवस्था रहेको खड्काको भनाइ छ। त्यसैले अहिले नेतृत्व परिवर्तनभन्दा पनि पार्टीलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध बनाउनु मुख्य आवश्यकता भएको उनले उल्लेख गरेका छन्।

कार्यवाहक सभापति खड्काले प्रतिनिधिसभा निर्वाचनलाई कांग्रेसको तत्कालीन प्राथमिकता भएको स्पष्ट पार्दै सम्पूर्ण पार्टी पंक्तिलाई चुनावी अभियानमा केन्द्रित हुन आह्वान गरेका छन्। निर्वाचन सम्पन्न भएपछि पार्टीका आन्तरिक विषयहरूलाई संस्थागत प्रक्रियाबाट समाधान गर्न सकिने उनको धारणा छ।