कांग्रेस नेतृत्वबीच संवादको तयारी, देउवाले महामन्त्रीद्वयसँग छलफल गर्ने

User Image Prime TV News २ दिन अगाडि
Image of कांग्रेस नेतृत्वबीच संवादको तयारी, देउवाले महामन्त्रीद्वयसँग छलफल गर्ने

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन्।

पार्टीभित्र विकसित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सभापति देउवा संवादमा बस्न तयार भएका हुन्। देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग छलफल गर्ने जानकारी दिए।

उनका अनुसार पार्टी एकता जोगाउने उद्देश्यका साथ आजै संवाद हुने तयारी गरिएको छ। विशेष महाधिवेशनको प्रक्रियाले पार्टीभित्र मतभेद बढिरहेका बेला नेतृत्व तहमा संवादको पहल हुनुलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीलाई एकताबद्ध राख्न दुवै पक्ष लचिलो रहेको बताएका छन्।

कांग्रेसभित्र जारी विशेष महाधिवेशन र नेतृत्व चयनसम्बन्धी बहसका बीच हुन लागेको यो छलफलले सहमतिको बाटो खोल्ने अपेक्षा गरिएको छ।