कार्यसमिति बैठक बहिष्कार गर्दै विशेष महाधिवेशन पक्षधर, वार्ता अझै अन्योलमा

User Image Prime TV News २ दिन अगाडि
Image of कार्यसमिति बैठक बहिष्कार गर्दै विशेष महाधिवेशन पक्षधर, वार्ता अझै अन्योलमा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकलाई विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले बहिष्कार गर्ने भएका छन्।

मंगलबार बिहान ११ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सहभागी नहुने निर्णय उनीहरूले गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिए पनि विशेष महाधिवेशन पक्षधरले त्यसलाई बेवास्ता गरेका छन्।

भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन चलिरहेकै बेला आकस्मिक रूपमा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु विधान र राजनीतिक मर्यादाविपरीत भएको विशेष महाधिवेशन पक्षधरको भनाइ छ । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ। यहि सन्दर्भमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकलाई विशेष महाधिवेशनलाई कमजोर पार्ने प्रयासका रूपमा लिइएको विशेष महाधिवेशन पक्षधरको ठहर छ।

यसैबीच, पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षबीच वार्ता प्रक्रिया अघि बढेको बताइए पनि वार्ता समिति गठन भएपछिसमेत समय र स्थान टुंगिन सकेको छैन। वार्ता अन्योलमै रहँदा कांग्रेसभित्रको आन्तरिक द्वन्द्व थप चर्किएको छ।