विशेष महाधिवेशन बन्दसत्र आज बिहान ९ बजेदेखि

User Image Prime TV News २ दिन अगाडि
Image of विशेष महाधिवेशन बन्दसत्र आज बिहान ९ बजेदेखि

काठमाडौ । काठमाडौको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुने भएको छ।

पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन समयमै टुंगोमा नपुग्दा कार्यतालिका संशोधन गरिएको छ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार सुरु भएको बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएपछि महाधिवेशनको समय थपिएको हो।

आज पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर चल्ने जनाइएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले महाधिवेशनमा उपस्थित भई हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्‍याउने दाबी गरेका छन्।

नेता सुवास पोखरेलले आइतबारसम्म २ हजार ६ सय ६२ रहेको हस्ताक्षर संख्या सोमबार ६.२४ प्रतिशतले बढेको बताएका छन्। उनका अनुसार मङ्गलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुनेछ भने सोही दिन निर्वाचन, अनुशासन र केन्द्रीय समिति लगायतका समितिहरू भङ्ग गरिनेछ।

यता संस्थापन पक्षलाई सहमतिमा ल्याउने प्रयास पनि जारी छ। सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरूबीच आज पुनः छलफल हुने भएको छ। वार्तामा गगन थापा–विश्वप्रकाश शर्मा समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुने जनाइएको छ।

तर पार्टीभित्रको विवाद अझै समाधानको बाटोमा देखिएको छैन। एकातिर विशेष महाधिवेशनलाई निर्णायक बनाउने दबाब छ भने अर्कोतिर संस्थापन पक्षको असहयोगले कांग्रेसलाई गम्भीर राजनीतिक संकटतर्फ धकेलेको छ। सहमति नजुटे कांग्रेसभित्रको यो द्वन्द्व अझ भयावह मोडमा पुग्ने संकेत स्पष्ट देखिन थालेको छ।