अमेरिकामा अध्यागमन कडाइको असर: आपराधिक गतिविधिमा संलग्न एक लाखभन्दा बढीको भिसा खारेज
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो एक वर्षभन्दा कम अवधिमा एक लाखभन्दा बढी विदेशी नागरिकको भिसा रद्द गरेको छ।
रद्द गरिएका भिसामध्ये करिब आठ हजार विद्यार्थी भिसा र दुई हजार ५०० विशेष श्रेणीका भिसा रहेका छन्। अमेरिकी प्रशासनले यसलाई सार्वजनिक र राष्ट्रिय सुरक्षासँग जोडिएको कठोर तर आवश्यक कदम भनेको छ।
फक्स न्युजका अनुसार भिसा रद्द गरिएका अधिकांश व्यक्ति कुटपिट, चोरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ठगी, बालबालिकासम्बन्धी अपराध तथा लागुऔषध तस्करीजस्ता गम्भीर आरोपमा पक्राउ परेका वा सजाय पाएका विदेशी नागरिक हुन्।
अमेरिकी कानुन कार्यान्वयन निकायले यस्ता व्यक्तिलाई पहिचान गरी भिसा खारेजीसँगै देश निकालाको प्रक्रिया अघि बढाइरहेका छन्। विदेश मन्त्रालयका उपप्रवक्ता टमी पिगटले एक वर्षभन्दा कम समयमा एक लाखभन्दा बढी भिसा रद्द हुनु अध्यागमन कानुन कडाइका साथ लागू गरिएको स्पष्ट प्रमाण भएको बताएका छन्।
उनका अनुसार सन् २०२५ मा रद्द गरिएका भिसाको संख्या हालसम्मकै उच्च हो, जुन सन् २०२४ मा बाइडन प्रशासनका बेला रद्द गरिएको संख्याभन्दा दोब्बरभन्दा बढी छ।
मन्त्रालयले धेरैजसो व्यवसायी र पर्यटक भिसा तोकिएको समयभन्दा बढी अमेरिका बसेर नियम उल्लंघन गरेकाले खारेज गरिएको जनाएको छ। यसका साथै लागुऔषध तस्करीमा संलग्न रहेको आरोपमा करिब ५०० विद्यार्थी भिसा पनि रद्द गरिएको छ।
अमेरिकी सरकारले देश निकालाको कारबाहीलाई तीव्र बनाउनुका साथै अब भिसा जारी गर्ने मापदण्ड पनि झनै कडा बनाएको छ।













