नेपाली कांग्रेसको विशेष महाधिवेशनः बन्द सत्र सुरु, प्रतिवेदनमाथि छलफल जारी
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बन्द सत्रमा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ।
बन्द सत्रमा प्रतिवेदनमाथि व्यापक छलफलपछि नीतिगत निर्णय गरिने र त्यसपछि आवश्यक परे निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने महाधिवेशन आयोजक पक्षले जनाएको छ। विशेष महाधिवेशनमार्फत पार्टीको वर्तमान संकट समाधान गर्ने र नयाँ दिशा तय गर्ने उद्देश्य रहेको उनीहरूको दाबी छ।
यसैबीच, भृकुटीमण्डपमा बन्द सत्र चलिरहँदा विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता भइरहेको छ। संस्थापन पक्षले विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने अडान कायमै राखेको छ भने विशेष महाधिवेशन पक्षले विधानअनुसार नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउने बताएको छ।
दुवै पक्षबीचको मतभेदका कारण कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको देखिन्छ। वार्ताबाट सहमति जुट्ने वा नजुट्ने भन्ने विषयले महाधिवेशनको आगामी कार्यदिशा निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ।
विशेष महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। उद्घाटन सत्रमा पार्टीको वर्तमान अवस्था, संगठनात्मक कमजोरी र आगामी रणनीतिबारे नेताहरूले धारणा राखेका थिए।












