हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट : ९ जना नेपालीको ज्यान गयो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचल प्रदेशको सोलन जिल्लास्थित अर्की क्षेत्रमा सोमबार बिहान करिब साढे २ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा उक्त घटना भएको हो।
आगलागीमा ज्यान गुमाउने सबै नेपाली सल्यान जिल्लाको सिद्धकुमार गाउँपालिका–२ का बासिन्दा हुन्। गाउँपालिका अध्यक्ष भरत गिरीले घटनाको पुष्टि गर्दै वडाका दुई परिवारका ९ सदस्यको मृत्यु भएको जानकारी दिएका छन्।
वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ति जारी गर्दै मृतकहरू स्थानीय धनबहादुर विक र काशीराम विकको परिवार भएको पुष्टि गरेका छन्। धनबहादुर विकको परिवारमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया रेणुका विक र छोरा राजन विक रहेका छन्।
त्यसैगरी काशीराम विकको परिवारमा ४७ वर्षीय काशीराम विककी श्रीमती ३२ वर्षीया टीका विक, १२ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको मृत्यु भएको छ। ढारचौर प्रहरी चौकीका प्रमुख असई खगेन्द्रबहादुर शाहीका अनुसार आगलागीमा परेर नेपाली नागरिकहरूको मृत्यु भएको सूचना प्रहरी चौकीमा प्राप्त भएको छ।
वडासचिव कृष्ण चलाउनेका अनुसार दुवै परिवार रोजगारीका लागि लामो समयदेखि हिमाचल प्रदेशमा बसोबास गर्दै आएका थिए। हिमाचलमै रहेका काशीरामका भाइले घटनाबारे गाउँमा जानकारी गराएका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ग्यास सिलिण्डर विस्फोट भएको घरमा फेन्सी पसलसमेत सञ्चालनमा थियो। आगलागीपछि छेउछाउका घर र पसलहरूमा समेत आगो सल्किँदा १५ भन्दा बढी पसलमा क्षति पुगेको छ।
समाचारअनुसार आगलागीपछि ९ जना नेपाली घरभित्रै फसेका थिए र निसास्सिएर उनीहरूको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। हिमाचलमै काम गर्दै आएका भोला कुमारले भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै आफ्ना चार जना आफन्तको मृत्यु भएको बताएका छन्। उनका अनुसार उद्धार गरी अस्पताल पुर्याइएका सबैलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि सिद्धकुमार गाउँपालिका–२ मा शोकको वातावरण छ। वडाका दुई परिवारका ९ सदस्यको निधन भएपछि मंगलबार वडाभर शोक बिदा दिइएको छ।













