तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले फेरि २० अर्बको ऋणपत्र निष्कासन गर्दै
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापनलाई ध्यानमा राख्दै आज २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। ऋणपत्रको बोलकबोल प्रक्रिया आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ। बोलकबोलबाटै ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।
एक वर्ष अवधिको यस ऋणपत्रको साँव भुक्तानी २०८३ साल पुस २९ गते हुने व्यवस्था गरिएको छ भने लगानीकर्तालाई ब्याज रकम अर्धवार्षिक रूपमा उपलब्ध गराइनेछ। बोलपत्र पेस गर्दा न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिनेछ।
केन्द्रीय बैंकले जारी गर्ने यो ऋणपत्र नेपाल राष्ट्र बैंकसहित अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा प्रयोग गर्न सकिने जनाएको छ। राष्ट्र बैंकले पछिल्ला दिनहरूमा निरन्तर रूपमा ऋणपत्र जारी गर्दै आएको छ। यसअघि पुस महिनामा मात्रै केन्द्रीय बैंकले विभिन्न मितिमा गरी २५ अर्ब, २० अर्ब तथा १० अर्ब रुपैयाँ बराबरका ऋणपत्र निष्कासन गरिसकेको छ।













