समानुपातिक उम्मेदवारमा १६४ जनाले फिर्ता लिए, निर्वाचन आयोगले नयाँ नाम पठाउन निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिएका छन्। आयोगले फिर्ता लिएका उम्मेदवारको ठाउँमा सम्बन्धित दलले नयाँ नाम पठाउन निर्देशन दिएको छ।
आयोगका स्रोतअनुसार, लोकतान्त्रिक समाजवादी पार्टी का ७८ र जनता समाजवादी पार्टी का २१ उम्मेदवारले नाम फिर्ता लिएका छन्। यी दुइ दलबीच हालै एकता भइसकेको कारण लोसपाका उम्मेदवारको ठाउँमा जसपाको सूचीमा नाम राखिएको छ। अन्य दलका उम्मेदवारले पनि यसरी उम्मेदवारी फिर्ता लिएका छन् ।
जसमा जनमत पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १२, जनादेश पार्टी नेपाल ६, नेकपा एमाले ५, नेपाल कम्युनिष्ट पार्टी ४ जना, राष्ट्र निर्माण दल नेपाल ४ र अन्य साना दलका उम्मेदवारहरुले उम्मेद्वारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले माघ ४ गते बन्दसूची प्रकाशित गर्नेछ।
दाबी विरोधको समय माघ ५–१० सम्म रहनेछ भने उजुरीको अध्ययन माघ ११–१७ सम्म हुनेछ। आवश्यक परे नाम हटाउने सूचना माघ १९ मा प्रकाशित गर्नेछ । अन्तिम समानुपातिक सूची माघ २० मा सार्वजनिक हुनेछ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ मा हुँदैछ। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फ र १६५ जना प्रत्यक्षतर्फ निर्वाचित हुनेछन्। प्रत्यक्षतर्फको मनोनयन दर्ता माघ ६ बाट सुरु हुनेछ।












