तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेर नेप्से बन्द


काठमाडौ । सेयर बजारमा बिहीबार तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागू भएको छ । जसका कारण आजको लागि कारोबार बन्द गरिएको छ। कारोबार शुरु हुँदा बजारमा तीव्र गिरावट आएको थियो । कारोवार सुरु भएको दुई मिनेटमै चार प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागू भएको थियो।
त्यसपछि, बजार २० मिनेटका लागि रोकिएको थियो, र पुनः खोल्दा एक मिनेटमै पाँच प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि बजार स्थगित गरियो, र पुनः खोलेपछि बजारमा ६ प्रतिशतको गिरावट आई तेस्रो सर्किट ब्रेक लागू भएको छ।
यस कारण आजको लागि सेयर बजारको कारोबार बन्द गरिएको हो।
सर्किट ब्रेक भनेको बजारमा अत्यधिक उतार–चढाव भएमा लगानीकर्तालाई ठूलो घाटा नहोस् भन्ने उद्देश्यले लागू गरिएको प्रणाली हो। यसमा, बजार ४ प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशतको गिरावटमा क्रमशः कारोबार रोकिन्छ।
बिहीबार बजार १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा पुग्यो। सेयर बजारमा जम्मा ७२ करोड रुपैयाँको कारोबार मात्र भएको छ, र यो पाँच मिनेटभन्दा बढी चलेन। यसअघि, राजनीतिक घटनाक्रम र आन्दोलनका कारण सेयर बजार मंगलबारदेखि बन्द थियो र आजबाट कारोबार पुनः शुरु भएको हो।