कांग्रेस विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्दा पार्टीभित्र तनाव बढ्दै
Prime TV News एक दिन अगाडि काठमाडौ । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।
समितिका अनुसार बुधबार दिउँसो ३:२५ बजेसम्म ३० वटा उम्मेदवारी फाराम वितरण गरिएको छ, जसमा ३ वटा फाराम सभापति पदका लागि तय गरिएका छन्। हाल फाराम वितरणको काम जारी रहेको र उम्मेदवारी फाराम बुझ्ने प्रक्रिया साँझ ५ बजेपछि मात्र सुरु हुने जनाइएको छ।
पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले माग गरेको विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। उनीहरूको आह्वानपछि विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रियालाई अगाडि बढाएको छ।
निर्वाचन प्रक्रिया सुरु भएसँगै संस्थापन समूह भने विशेष महाधिवेशन रोक्ने प्रयासमा जुटेको छ। यसका लागि पार्टीभित्र विभिन्न समूहबीच छलफल सुरु गरिएको छ। छलफलमा सभापति देउवा समूह, नेता शेखर कोइराला समूह तथा विशेष महाधिवेशन पक्षका नेताहरू सहभागी रहेका छन्।
यसैबीच, पार्टीको आन्तरिक राजनीतिक गतिविधि थप तातेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक जारी छ। बैठकमा विशेष महाधिवेशनको वैधानिकता र आगामी राजनीतिक बाटोबारे गम्भीर छलफल भइरहेको बताइएको छ।












