नेपाली कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय फेरि सारियो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने उमेदवारको मनोनयनपत्र दर्ताको समय फेरि परिवर्तन गरिएको छ।
निर्वाचन समितिका अनुसार मनोनयनपत्र दर्ता अब मंगलबार बेलुका साढे ६ बजेदेखि सुरु हुनेछ। यसअघि सोही दिन दिउँसो २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको थियो। पछि समय संशोधन गर्दै बेलुका ५ बजेपछि दर्ता गरिने जनाइएको थियो। तर पुनः समय परिवर्तन गर्दै बेलुका साढे ६ बजेदेखि दर्ता सुरु हुने गरी निर्वाचन समितिले जानकारी दिएको हो।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ। तर पार्टीको संस्थापन पक्षले भने यो विशेष महाधिवेशनलाई स्वीकार गरेको छैन।
मनोनयन दर्ताको समय पटक पटक फेरबदल हुँदा महाधिवेशनको कार्यतालिकामाथि प्रश्न उठेको छ भने पार्टीभित्रको आन्तरिक मतभेद थप सतहमा आएको देखिन्छ।












