इरानमा सरकारविरोधी प्रदर्शनमा दमन तीव्र, दुई हजारभन्दा बढीको मृत्यु
Prime TV News एक दिन अगाडि 
काठमाडौ । इरानमा पछिल्ला दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शनका क्रममा भएको दमनका कारण दुई हजारभन्दा बढी नागरिक तथा सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाचार संस्था रोयटर्सले इरानी सरकारी अधिकारीलाई उद्धृत गर्दै प्रदर्शनमा सहभागी नागरिक र सुरक्षा निकायका सदस्य गरी करिब दुई हजार जनाको ज्यान गएको उल्लेख गरेको छ। इरानी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई ‘आतंककारी’को संज्ञा दिँदै मृत्युको जिम्मेवारी पनि आतंकवादी गतिविधिमाथि थोपरेका छन्।
राष्ट्रव्यापी रूपमा फैलिएको यस आन्दोलनमा यति ठूलो संख्यामा मृत्यु भएको कुरा इरानले पहिलोपटक औपचारिक रूपमा स्वीकार गरेको हो। डिसेम्बर २८ बाट सुरु भएको प्रदर्शन अझै रोकिएको छैन।
यसैबीच, इरानी सरकारले अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फोन कलमाथि लगाइएको प्रतिबन्ध हटाएको छ। समाचार संस्था एपीका अनुसार मंगलबार इरानबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालयमा फोन आएका छन्। इरानका नागरिकहरूले एपीको दुबई ब्युरोमा फोन गरी देशभित्रको अवस्थाबारे जानकारी गराएका थिए।
यद्यपि, इन्टरनेट सेवा भने अझै पनि पूर्ण रूपमा अवरुद्ध रहेको विभिन्न मिडिया रिपोर्टहरूले बताएका छन्। इन्टरनेट बन्द हुँदा इरानको विश्वसँगको सम्पर्क अझै सीमित नै रहेको जनाइएको छ। उता, अमेरिका–इरानबीचको तनाव थप चर्किएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँग गरिने सबै प्रकारका व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने घोषणा गरेका छन्। उनले यस निर्णयलाई ‘अन्तिम र निर्णायक’ भनेका छन्।
यसअघि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि इरानप्रति कडा चेतावनी दिँदै कूटनीति पहिलो विकल्प भए पनि आवश्यकता परे हवाई सैन्य हमला समेत विकल्पमा रहेको बताएकी थिइन्। यसै क्रममा इरानस्थित अमेरिकी भर्चुअल दूतावासले एडभाइजरी जारी गर्दै अमेरिकी नागरिकहरूलाई तुरुन्तै इरान छोड्न आग्रह गरेको छ।
दूतावासले उडानहरू सीमित वा रद्द भइरहेकाले इन्टरनेट अवरोधका लागि तयार रहन र वैकल्पिक सञ्चार माध्यमको व्यवस्था गर्न अनुरोध गरेको छ। सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्ग प्रयोग गरी इरान छोड्न पनि सुझाव दिइएको छ।













