असाधारण परिस्थितिका बिच कम्युनिष्ट एकता आवश्यकः प्रचण्ड

User Image Prime TV News एक दिन अगाडि
Image of असाधारण परिस्थितिका बिच कम्युनिष्ट एकता आवश्यकः प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर र असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै कम्युनिष्ट तथा समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्नु अपरिहार्य भएको बताएका छन्।

केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले १९–२० वटा कम्युनिस्ट र समाजवादी घटकलाई एउटै मोर्चामा ल्याउने प्रयास सफलतापूर्वक अघि बढिरहेको दाबी गरे। उनका अनुसार यो एकता नेपालको राजनीतिक इतिहासमै पहिलो पटक भएको हो।

प्रचण्डले पार्टी एकता केवल संगठनहरू सीमित नरही परिवर्तनप्रति इमानदार र देशप्रेमी व्यक्ति तथा समूहहरूलाई समेत समेट्दै विस्तार भइरहेको बताए। हजारौँ नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरिरहेको उल्लेख गर्दै उनले यसले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

उनले भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा एकता समारोह आयोजना गरी काठमाडौं उपत्यकासहित देशभर एक सकारात्मक र बलियो राजनीतिक सन्देश प्रवाह गरिने जानकारी दिए। प्रचण्डले वर्तमान अवस्थामा सबै राजनीतिक दलहरूले विगतका कमजोरीमाथि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रलाई थप एकताबद्ध गर्ने, राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने र संकटको सामना गर्न नयाँ सोच र सङ्कल्प आवश्यक रहेको निष्कर्षसहित पार्टी एकताको प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे। शपथ ग्रहणपछि पार्टीका संगठनात्मक संरचनालाई पूर्णता दिने काम तीव्र पारिने पनि उनले बताए।