कांग्रेस विशेष महाधिवेशन निर्णायक मोडमा, सहमति टुटेपछि निर्वाचन प्रक्रिया सुरु

User Image Prime TV News एक दिन अगाडि
Image of कांग्रेस विशेष महाधिवेशन निर्णायक मोडमा, सहमति टुटेपछि निर्वाचन प्रक्रिया सुरु

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ।

रातभर चलेको वार्ता निष्कर्षविहीन भएपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन्।

विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न अस्वीकार गरेपछि सहमतिको बाटो बन्द भएको हो।

संस्थापन पक्षले अन्तिम क्षणसम्म वार्ताको प्रयास गरिरहे पनि विशेष महाधिवेशन पक्षधरहरूले तय गरिएको निर्वाचन तालिका यथावत् राखेका छन्।

मंगलबार राति विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत सहमति असफल भएको जानकारी दिँदै अब निर्वाचन नै एकमात्र विकल्प रहेको स्पष्ट पारिएको थियो।

विशेष महाधिवेशनलाई संस्थापन पक्षले औपचारिक रूपमा स्वीकार गरे पनि नेतृत्वकै विषयमा सहमति हुन नसक्दा विवाद झन् गहिरिएको छ। यसैबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै बन्द सत्र समाप्त गरिएको छ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले नयाँ पदाधिकारी संरचनाको खाका बनाउने कामलाई तीव्र पारेका छन्। बुधबार बिहानसम्म वार्ताको ढोका खुला राखिए पनि निर्वाचन प्रक्रिया समानान्तर रूपमा अघि बढ्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताका लागि बिहान ८:१५ देखि ९:१५ बजेसम्मको समय तोकिएको छ।