इरानमा अमेरिकी हस्तक्षेप चर्कियो, ट्रम्पको उक्साहटपछि तनाव खतरनाक मोडमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र जारी विरोध प्रदर्शनलाई खुलेआम उक्साउँदै अमेरिकी र इरान सम्बन्धलाई झनै खतरनाक दिशातर्फ धकेलेका छन्।
मंगलबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानी प्रदर्शनकारीहरूलाई आन्दोलन जारी राख्न र राज्यका संस्थाहरू कब्जा गर्न आह्वान गरेका हुन्।
ट्रम्पले इरानी आन्दोलनकारीलाई “देशभक्त” भन्दै सरकारी संयन्त्रविरुद्ध उभिन प्रोत्साहित गरेका छन्। उनले प्रदर्शनकारीमाथि भइरहेको दमन नरोकिएसम्म इरानी अधिकारीहरूसँगका सबै कूटनीतिक बैठक रद्द गरेको दाबीसमेत गरेका छन्।
“मद्दत आउँदै छ” भन्ने उनको भनाइले प्रत्यक्ष हस्तक्षेपको संकेत दिएको छ, जसलाई कूटनीतिक मर्यादामाथिको गम्भीर आक्रमणका रूपमा हेरिएको छ।
यसैबीच इरानका विदेशमन्त्री अब्बासी अराघचीले अमेरिका सँग वार्ता र युद्ध दुवैका लागि तयार रहेको स्पष्ट पारेका छन्। उनको अभिव्यक्तिले ट्रम्पको दबाबलाई इरानले कमजोर रूपमा नलिएको सन्देश दिएको छ।













